अन्नपूर्ण सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, कोपवा–५, कपिलवस्तुका विद्यार्थीहरूले राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाएका छन्। विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरू खेतमा पुगेर धान रोपाइँमा सहभागी भएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले शिक्षकहरूको साथमा परम्परागत शैलीमा खेतमा धान रोप्दै कृषि कर्मको महत्त्व, श्रमको सम्मान र किसानप्रतिको आदरभावबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए। धान रोपाइँपछि सबै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले नेपाली परम्पराअनुसार दही–चिउरा खाएर राष्ट्रिय धान दिवसको उल्लास साटासाट गरेका थिए।
विद्यालयका प्रधानाध्यापकले कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले विद्यार्थीहरूमा सानैदेखि कृषि, वातावरण संरक्षण र श्रमप्रतिको सम्मानको भावना विकास गर्न यस्ता व्यवहारिक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले पुस्तकीय ज्ञानसँगै व्यवहारिक सिकाइलाई जोड दिन विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

कार्यक्रमभर विद्यार्थीहरू उत्साहित देखिएका थिए। धान रोपाइँ, रमाइलो वातावरण र दही–चिउराको स्वादसँगै उनीहरूले नेपाली संस्कृति र कृषिसँग जोडिएको महत्वपूर्ण पर्वलाई अविस्मरणीय रूपमा मनाएका थिए।
विद्यालयले यस कार्यक्रममार्फत “किसानको सम्मान गरौँ, कृषि संस्कृतिको संरक्षण गरौँ” भन्ने सन्देश प्रवाह गर्दै राष्ट्रिय धान दिवसलाई सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
