ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ मा छैटौँ स्थान पक्का
काठमाडौं । बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार अल अमेरत ग्राउन्डको टर्फ–१ मा भएको खेलमा जित हासिल गरेसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको हो।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो। एक समय बलियो अवस्थामा देखिएको ओमानलाई अन्तिम समयमा नेपाली बलरहरूले दबाबमा राख्दै जितबाट वञ्चित गरे।
ओमानका लागि जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए। ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।
अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाएर नेपालको स्कोर बढाएका थिए।
ओमानका लागि शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे।
जितसँगै अंकतालिकामा नेपालको सुधार
लिग–२ को शीर्ष ६ मा रहन नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि अंकतालिकामा सातौँ स्थानमा झरेको थियो।
नेपालसँग पराजित हुनुअघि क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा पुगेको थियो।
ओमानमाथिको जितपछि नेपालले ३६ खेलमा ३० अंक जोड्दै पुनः छैटौँ स्थानमा उक्लिएको छ। लिग–२ को शीर्ष ६ मा रहने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना उच्च रहने भएकाले नेपालका लागि यो जित निकै महत्त्वपूर्ण बनेको छ।
यससँगै नेपालले लिग–२ को यात्रा छैटौँ स्थानमा रहेर टुंग्याएको छ।
