बाणगंगा, कपिलवस्तु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाणगंगा नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ४५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
बाणगंगा नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको हो। प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति नगरपालिकाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
त्यसैगरी, बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।

२०८३/०५/१६ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट रु. ४५,००,००० (पैंतालीस लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
प्राकृतिक विपद्का बेला स्थानीय तहले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो। नगरपालिकाको यो सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा केही हदसम्म भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा सबै पक्षबाट मानवीय सहयोग, सहकार्य र ऐक्यबद्धताको आवश्यकता रहेको उल्लेख गर्दै प्रभावित नागरिकप्रति नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
