Abiral Awaj

२०८३ भाद्र १५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ भाद्र १५ गते

पहिलो पाइला नेपालको मानवीय पहल : ३४ पिन्ट रगत संकलन

कपिलवस्तु । रसुवामा आएको विनाशकारी बाढीबाट घाइते तथा उपचाररत नागरिकलाई आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले  पहिलो पाइला नेपाल, बाणगंगा शाखाले तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

पहिलो पाइला नेपाल बाणगंगा शाखाको आयोजना, तौलिहवास्थित तिलौराकोट होटलको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको कार्यक्रम संयाेजक मधुसुदन गन्धर्ब ले बताउनु भयाे।

कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल बाणगंगा शाखाका अध्यक्ष शेषकान्त मरासिनीले गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाका अध्यक्ष केशव सिंह प्रमुख अतिथि तथा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बहादुर राउत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले प्राकृतिक विपद्का समयमा रक्तदानको महत्व अझ बढ्ने बताउनुभयो। बाढी तथा अन्य विपद्का कारण घाइते भएकाहरूको उपचारमा रगत आवश्यक पर्ने भएकाले रक्तदानमार्फत मानवीय सहयोग गर्न सकिने उहाँको भनाइ थियो।

त्यस्तै, विशिष्ट अतिथि राउतले विपद्को समयमा युवाहरूको सामाजिक सक्रियता प्रशंसनीय रहेको बताउँदै पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। पहिलो पाइला नेपालले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

शाखा अध्यक्ष मरासिनीले रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदानमा सहभागी सबै रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो।

रक्तदान कार्यक्रममा सामाजिक अभियन्ता, स्वयंसेवक, विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। संकलित ३४ पिन्ट रगत रसुवा बाढीका घाइते तथा उपचाररत बिरामीको आवश्यकता अनुसार प्रयोग गरिने आयोजकले जनाएको छ।

“एक पिन्ट रगत, कसैका लागि जीवनको आशा” भन्ने भावनासहित सम्पन्न कार्यक्रमले विपद्को समयमा सामाजिक एकता, सहयोग र मानवीय सेवाको महत्वपूर्ण सन्देश दिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.