Abiral Awaj

२०८३ आश्विन ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ आश्विन ३० गते

आईसीसी स्वीकृति पनि अन्तिम चरणमा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि प्रतियोगितालाई थप प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी तीव्र पारिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार यसपटक एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गर्ने तयारी भइरहेको छ। खड्काका अनुसार डीआरएसका लागि दुई कम्पनीको प्रविधि परीक्षण भइसकेको छ। परीक्षणबाट प्राप्त नतिजा, प्रविधिको शुद्धता र प्रभावकारिताको मूल्यांकन गरेपछि उपयुक्त प्रणाली छनोट गरिनेछ। प्रविधि विश्वसनीय देखिएमा यही संस्करणदेखि एनपीएलमा डीआरएस लागू गर्ने तयारी क्यानको छ। विश्वकप तथा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग हुने पूर्ण डीआरएस प्रणालीका लागि ठूलो स्रोतसाधन आवश्यक पर्ने भएकाले नेपालमा घरेलु लिगका लागि उपयुक्त र विश्वसनीय प्रविधि प्रयोग गर्ने तयारी गरिएको खड्काले बताएका छन्। डीआरएस लागू भएमा मैदानमा अम्पायरले गरेको निर्णयमाथि निश्चित अवस्थामा समीक्षा गर्ने अवसर उपलब्ध हुनेछ। यसले महत्वपूर्ण निर्णयहरूमा प्रविधिको सहयोग लिन सकिनेछ। , एनपीएलमा विश्वस्तरीय खेलाडीको आकर्षण तेस्रो संस्करणको एनपीएलप्रति विदेशी खेलाडीको आकर्षण पनि बढेको छ। डेभिड वार्नर, शाकिब अल हसन, सिकन्दर राजा, जिमी नीशम र चरिथ असलंकाजस्ता अन्तर्राष्ट्रिय खेलाडी विभिन्न फ्रेन्चाइजसँग जोडिएका छन्। विशेषगरी अष्ट्रेलियाका पूर्व स्टार ब्याटर डेभिड वार्नरको काठमाडौं गोर्खाजसँगको अनुबन्धले एनपीएलको अन्तर्राष्ट्रिय चर्चा थप बढाएको छ। आईसीसी स्वीकृतिको प्रतीक्षा एनपीएलमा विदेशी खेलाडीको सहभागितासम्बन्धी आईसीसी स्वीकृति प्रक्रिया अन्तिम चरणमा पुगेको क्यान सचिव खड्काले बताएका छन्। स्वीकृति प्राप्त भएपछि फ्रेन्चाइजहरूले बाँकी विदेशी खेलाडीको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। एनपीएलले आईसीसीबाट औपचारिक मान्यता पाएमा प्रतियोगितामा खेलाडीले बनाएका रन, विकेट तथा अन्य प्रदर्शनलाई अन्तर्राष्ट्रिय करियर रेकर्डमा समावेश हुने बाटो खुल्न सक्छ। यसअघि एनपीएलका पहिलो दुई संस्करणका प्रदर्शनहरू खेलाडीको अन्तर्राष्ट्रिय करियर रेकर्डमा जोडिएका थिएनन्। अक्टोबर २६ देखि एनपीएलको तेस्रो संस्करण क्यानले एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन गर्ने जनाएको छ। प्रतियोगिताको मुख्य आयोजनास्थल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहनेछ। विदेशी स्टार खेलाडीको सहभागिता, डीआरएसको सम्भावित प्रयोग र आईसीसी स्वीकृतिको प्रक्रियाले तेस्रो संस्करणप्रति नेपाली क्रिकेट समर्थकको चासो थप बढाएको छ।

आईसीसी स्वीकृति पनि अन्तिम चरणमा, एनपीएलमा पहिलोपटक डीआरएसको तयारी

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.