हिमाली सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न, ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार
वाणगंगा। “आजको बचत, भोलिको सुनौलो भविष्य” भन्ने मूल नाराका साथ कपिलवस्तुको वाणगंगा नगरपालिका–५, कोपवामा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

श्री अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाका तर्फबाट कमलप्रसाद खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले ३६ करोड २५ हजार ६१५ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो। उहाँले सहकारीले आफ्ना सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।

त्यस्तै, लेखा समितिका संयोजक कपिल घिमिरेले सुझावसहित लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। ऋण उपसमितिका संयोजक लक्ष्मण भुसालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाबाट प्रवाह गरिएको ऋणलाई उत्पादनशील, व्यवसायिक तथा आयआर्जनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।
साधारणसभामा संस्थाका अध्यक्ष भरतराज न्यौपानेले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सहकारीको उद्देश्यअनुरूप वित्तीय गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरेको थियो। संस्थामा सर्वाधिक कारोबार गर्ने सदस्य, नियमित बाल बचतकर्ता, असल ऋणी, एकल महिला तथा ज्येष्ठ बचतकर्तालाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्षसमेत रहनुभएका वाणगंगा नगरपालिका–५ का वडाध्यक्ष दुनिका भुसालले सहकारीले सदस्यहरूलाई ऋण प्रवाह गर्दा व्यावसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारीको भूमिका बचत सङ्कलन र ऋण प्रवाहमा मात्र सीमित नराखी स्थानीयस्तरमा रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आर्थिक गतिविधि विस्तारमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षलगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको थप प्रगति र सफलताको कामना गर्नुभएको थियो। साधारणसभामा सामाजिक व्यक्तित्व, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
२०६४ सालमा स्थापना भएको हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल वाणगंगा नगरपालिकाका विभिन्न वडालाई कार्यक्षेत्र बनाई सदस्यहरूलाई बचत तथा ऋणलगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थामा हाल २ हजार ४२६ जना सेयर सदस्य आबद्ध रहेका छन्।

साधारणसभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्यहरूको आर्थिक समृद्धि, उत्पादनशील क्षेत्रमा लगानी, वित्तीय अनुशासन, पारदर्शिता तथा संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
