ओमानमाथि नेपालको शानदार जित, लगातार दोस्रो सफलतासँगै ११३ रनले विजयी
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ। बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले मंगलबार घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो।

ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानले १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि विनायक र जय ओडेराले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। ओडेरा २५ रन बनाएर आउट भए।
ओडेराको विकेट गुमाउँदा ओमान १२८–७ को अवस्थामा थियो। त्यसपछि थप २२ रन जोड्दा विनायकसहित शाह फेसल र हस्नेन शाह पनि आउट भएपछि ओमानको इनिङ्स समाप्त भयो।
नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। ६७ बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले केवल १६ बलमा ४० रन बनाए। करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसलको बलमा पनि छक्का प्रहार गरे।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २ विकेट लिए भने हस्नेन शाहले १ विकेट हात पारे।
यस जितसँगै लिग–२ अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। चौथो स्थानमा रहेको ओमानको ३० खेलबाट ३३ अंक छ।
नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ
