रोहितको शतकपछि नेपालको शानदार जित, क्यानडा २४ रनले पराजि
अबिरल। कप्तान रोहित पौडेलको शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटिएपछि नेपालले महत्त्वपूर्ण जित निकालेको हो।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५ रन जोड्दा अखिल कुमार ३० रनमा अविजित रहे। यस्तै, श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान २–२ विकेट लिए। नेपाली बलरहरूको अनुशासित प्रदर्शनले क्यानडालाई लक्ष्यसम्म पुग्न दिएन।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै १०१ रनको शतकीय पारी खेले। उनले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै, गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन बनाए भने अर्जुन कुमालले २३ रनको योगदान दिए। क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिँदा सुख्जिन्दर सिंहले ३ तथा जहिर शिर्जादले २ विकेट लिए।
यस शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। ओमानसँग क्यानडा पराजित भएपछि नै नेपालको लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको थियो। अब नेपालको मुख्य लक्ष्य आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु हुनेछ।
यस जितसँगै लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।
रोहितको शतक र बलरहरूको सामूहिक प्रदर्शनमा प्राप्त यस जितले नेपालको मनोबल बढाएको छ। यद्यपि, शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेकाले अब नेपालका लागि ओडीआई मान्यता जोगाउने चुनौती महत्त्वपूर्ण बनेको छ।
