रोहितको शतकमा क्यानडासामु नेपालको चुनौतीपूर्ण लक्ष्य, ओडीआई स्टाटस जोगाउने दबा
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले १२७ बलमा ८ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए। यस्तै, गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन जोड्दा अर्जुन कुमालले २३ रनको योगदान दिए।
क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ र जहिर शिर्जादले २ विकेट हात पारे।
लिग–२ को अन्तिम शृङ्खला खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल महत्त्वपूर्ण छ। यस शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। ओमानसँग क्यानडा पराजित भएपछि नेपालको लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
अब नेपालको मुख्य लक्ष्य आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु हुनेछ। त्यसका लागि बाँकी खेलमा नेपालले आफ्नो प्रदर्शन सुधार गर्दै महत्त्वपूर्ण जित निकाल्नुपर्ने दबाब छ।
लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ। यता, क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ।
रोहितको शतकीय पारीपछि अब नेपालले बलिङमा कस्तो प्रदर्शन गर्छ भन्ने कुराले खेलको नतिजा निर्धारण गर्नेछ।
रोहितको शतकमा क्यानडासामु नेपालको चुनौतीपूर्ण लक्ष्य, ओडीआई स्टाटस जोगाउने दबाब
