ओडीआई लिग–२ : नेपाल आज क्यानडासँग भिड्दै, ओडीआई स्टाटस जोगाउने चुनौत
अबिरल । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) शृङ्खलामा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

लिग–२ को अन्तिम शृङ्खलामा रहेका दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ। यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो।
ओमानसँग क्यानडा पराजित भएसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ। त्यसैले अब नेपालका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ।
लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा रहेको छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा छ।
शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालका लागि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनुपर्ने दबाब छ। क्यानडाविरुद्धको आजको खेल नेपालका लागि अंकतालिकामा सुधार गर्ने अवसरसमेत हुनेछ।
