नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा पर्न असफल हुने पक्का भएको छ। शुक्रबार ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो।
यससँगै नेपालले अब सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाएको छ। विश्वकप छनोटसम्म पुग्न नेपालले अब प्लेअफको बाटो रोज्नुपर्नेछ।
क्यानडामाथि जित निकालेपछि ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ। नेपाल भने ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। नेपालले बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंक मात्रै जोड्न सक्ने भएकाले ओमानलाई उछिन्न सम्भव छैन।
लिग–२ को शीर्ष स्थानमा रहेको अमेरिका ३४ खेलबाट ४७ अंकसहित च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो स्थानमा छन्।
अंकतालिकामा ओमान ३३ अंकसहित चौथो, नामिबिया २९ अंकसहित पाँचौँ, क्यानडा २५ अंकसहित छैटौँ र नेपाल २४ अंकसहित सातौँ स्थानमा छन्। यूएई १९ अंकसहित आठौँ स्थानमा छ।
हाल अमेरिका, नामिबिया र यूएईबीचको शृङ्खला जारी छ। शुक्रबार राति नामिबिया र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ। नेपालले भने आइतबार क्यानडासँग खेल्नेछ।
यसअघि शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्दै आएको नेपालले यसपटक भने प्लेअफबाट छनोटको यात्रा अघि बढाउनुपर्ने भएको छ।
