मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार सम्पन्न सेमिफाइनलमा शानदार प्रदर्शन गर्दै नेपालले ओमानलाई पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेको हो।
यसअघि भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो। प्रतियोगितामा यूएई हालसम्म अपराजित रहेको छ। उसले समूह चरणका चारवटै खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

नेपालले भने समूह चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलमा हङकङसँग पराजय बेहोरेको थियो। तर, सेमिफाइनलमा ओमानमाथि प्रभावशाली जित निकाल्दै नेपालले उपाधि नजिक पुग्न सफल भएको हो।
अब नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ। नेपाली क्रिकेटका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ, किनकि एसीसी प्रिमियर कपको उपाधि जित्ने टोलीले आगामी एसिया कपमा स्थान बनाउनेछ।
नेपाल यूएईलाई हराउँदै उपाधि जितेर एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ भने अपराजित यात्रा कायम राख्दै यूएई उपाधि आफ्नो पक्षमा पार्ने योजनामा हुनेछ।
फाइनलमा नेपाल र यूएईबीचको भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
