बाणगंगा, कपिलवस्तु । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण लक्ष्मणघाट बोलबम धाम परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८३ साल भदौ १ गते साेमबार पहिलो पाइला नेपाल, बाणगंगा शाखाको आयोजनामा तथा बोलबम धाम विकास समितिको सहकार्यमा लक्ष्मणघाट बोलबम धाम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।
पहिलो पाइला नेपाल बाणगंगा शाखाका सदस्य मधुसुदन गन्धर्वको संयोजकत्वमा आयोजित कार्यक्रममा पहिलो पाइला नेपालका अध्यक्ष श्री शेषकान्त मरासिनीको अध्यक्षता तथा बोलबम धाम विकास समितिका अध्यक्ष श्री रणबहादुर काउछाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा धार्मिक तथा पर्यटकीय स्थलको स्वच्छता, संरक्षण र सौन्दर्यकरणमा सबैको साझा जिम्मेवारी हुनेमा जोड दिइएको थियो। सहभागीहरूले लक्ष्मणघाट बोलबम धाम परिसर तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गर्दै सरसफाइ गरेका थिए। साथै, धाममा आउने श्रद्धालु तथा पर्यटकहरूलाई फोहोर जथाभावी नफाल्न र धार्मिक स्थलको स्वच्छता कायम राख्न आग्रह गरिएको थियो।
कार्यक्रममा पहिलो पाइला नेपालका सल्लाहकार श्री दीपक कुँवर, केन्द्रीय सदस्य श्री सागर बन्जाडे, उपाध्यक्ष श्री केशव खनाल, सचिव श्री जीवराज शर्मा, कोषाध्यक्ष श्री मधु आचार्य लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी बोलबम धाम विकास समितिका अध्यक्ष श्री रणबहादुर काउछासहित सदस्यहरू मधुसुदन गन्धर्व, दीपक पौडेल लगायतको सहभागिता रहेको थियो।
लक्ष्मणघाट बोलबम धाम बाणगंगा क्षेत्रको धार्मिक आस्था र पर्यटनसँग जोडिएको महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण तथा सरसफाइमा नियमित अभियान सञ्चालन गर्नुपर्ने सहभागीहरूले बताएका छन्। धार्मिक स्थललाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन स्थानीय संघसंस्था, युवा तथा समुदायको निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
पहिलो पाइला नेपाल बाणगंगा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। यस्ता अभियानले धार्मिक स्थलको वातावरण संरक्षण गर्नुका साथै बाणगंगाको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
