Abiral Awaj

२०८३ भाद्र १५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ भाद्र १५ गते

दुई हप्ते हस्तलेखन सिकाइ कार्यक्रम प्रभावकारी बन्दै, तेस्रो दिन अन्नपूर्ण विद्या मन्दिरमा विद्यार्थीको उत्साहजनक सहभागिता

कपिलवस्तु, साउन २१, कपिलवस्तुको बाणगंगा नगरपालिका–५, कोपवास्थित अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालय मा सञ्चालन भइरहेको दुई हप्ते हस्तलेखन सिकाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रमको तेस्रो दिन विद्यार्थीहरूको उत्साहजनक सहभागिताले विद्यालय परिसर थप रौनकपूर्ण बनेको छ।

विद्यार्थीहरूको हस्तलेखन सुधार गर्दै उनीहरूमा सफा, स्पष्ट र व्यवस्थित लेखाइको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्। तेस्रो दिन विद्यार्थीहरूले अक्षर निर्माण, शब्द तथा वाक्य लेखन, अक्षरको सन्तुलन, आकार र सुन्दर प्रस्तुतीकरण सम्बन्धी अभ्यास गरेका थिए।

विद्यालयका अनुसार हस्तलेखनको नियमित अभ्यासले विद्यार्थीहरूको लेखाइमा मात्र होइन, अध्ययनप्रतिको एकाग्रता, अनुशासन, धैर्यता र आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो। केही दिनको अभ्यासमै विद्यार्थीहरूको लेखाइमा सुधार देखिन थालेको शिक्षकहरूले बताएका छन्।

विद्यालय प्रशासनले दुई सातासम्म सञ्चालन हुने यस कार्यक्रमबाट विद्यार्थीहरूको हस्तलेखनलाई थप परिष्कृत बनाउने लक्ष्य लिइएको जनाएको छ। कार्यक्रम अवधिभर दैनिक अभ्यास, आवश्यक मार्गदर्शन तथा मूल्याङ्कनसमेत गरिने विद्यालयको योजना रहेको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकासमा समेत जोड दिँदै आएको अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालयले यस्ता सीपमूलक तथा सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। विद्यालयमा देखिएको विद्यार्थीहरूको सक्रिय सहभागिता र सिकाइप्रतिको उत्साहले कार्यक्रम सफलतापूर्वक अगाडि बढिरहेको संकेत गरेको छ

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.