बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा श्री अन्नपूर्ण विधा मन्दिर मा.वि बाणगंगा–५, कपिलवस्तुमा विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूका लागि अस्वस्थकर खाना (Junk Food) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई जङ्क फुडको अत्यधिक सेवनले बालबालिकाको स्वास्थ्य, शारीरिक वृद्धि, मानसिक विकास तथा अध्ययन क्षमतामा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो।

सहजीकरणका क्रममा विद्यालयमा स्वस्थकर खानेकुराको प्रयोगलाई प्राथमिकता दिने, विद्यालय क्यान्टिनमा पौष्टिक तथा स्वच्छ खाद्य सामग्री मात्र बिक्री गर्ने, विद्यार्थीहरूलाई फलफूल, हरियो सागसब्जी तथा घरमै तयार गरिएका पौष्टिक परिकार खान प्रोत्साहित गर्ने विषयमा विशेष जोड दिइयो।

कार्यक्रममा सहभागीहरूले विद्यालय, अभिभावक र स्थानीय समुदायको संयुक्त प्रयासबाट जङ्क फुडको प्रयोग घटाई स्वस्थ जीवनशैलीको विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यालय परिसरलाई स्वस्थ, सुरक्षित र पोषणमैत्री वातावरण बनाउने प्रतिबद्धतासहित यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको थियो।
