Abiral Awaj

२०८३ असार ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३० गते

साना र सावित्रीको कीर्तिमानी साझेदारीमा नेपाललाई सानदार जित

एसिसी महिला यु–१९ प्रिमियर कपमा सिंगापुरमाथि नेपालको १५१ रनको फराकिलो विजय
साना प्रवीण र सावित्री धामीको उत्कृष्ट ब्याटिङ प्रेरणामा नेपालले एसिसी महिला यु–१९ प्रिमियर कपमा सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।
नेपालको १९९ रनको विशाल लक्ष्य, सिंगापुर ४८ रनमै अलआउट
जितका लागि २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ४८ रन बनाउन सक्यो। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालको धारिलो बलिङसामु सिंगापुरका ब्याटरहरू निरीह देखिए। नेपालका लागि अनु कडायतले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चिएर ३ विकेट लिइन्। त्यस्तै मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट हात पारे।
साना–सावित्रीको अविजित १९९ रनको साझेदारी
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा बिना विकेटको क्षतिमा १९९ रनको विशाल योगफल खडा गरेको थियो।
ओपनरद्वय साना प्रवीण र सावित्री धामीले पहिलो विकेटका लागि अविजित १९९ रनको ऐतिहासिक साझेदारी गरे। दुवै खेलाडीले शानदार अर्धशतक पूरा गरे।
साना शतक बनाउन २ रनले मात्र चुकेकी थिइन्। उनले ७० बलमा १३ चौकासहित अविजित ९८ रन बनाइन्। यस्तै सावित्रीले ५३ बलमा १३ चौकाको मद्दतले अविजित ७८ रन जोडिन्।
दुवै खेलाडीले चौकाबाट मात्र १०४ रन बटुलेका थिए।
सावित्रीको लगातार दोस्रो अर्धशतक
सावित्री धामीले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक पूरा गरेकी छन्। यसअघि पहिलो खेलमा कतारविरुद्ध उनले ५२ रन बनाएकी थिइन्।
नेपालको उत्कृष्ट सुरुवात, अब हङकङसँग भिड्दै
नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई २५ रनमै समेट्दै १०५ रनको फराकिलो जित निकालेको थियो। लगातार दुई जितसँगै नेपाल बलियो अवस्थामा पुगेको छ।
नेपालले अब मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.