फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना फुटबल संघ (एएफए) अहिले मैदानबाहिरको विवादमा फसेको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार एफबीआईको अनुसन्धान तारमार्फत हुने आर्थिक ठगी, कर छली र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आशंकामा केन्द्रित छ। अमेरिकी अधिकारीहरूले एएफएका अन्तर्राष्ट्रिय प्रायोजन तथा व्यावसायिक सम्झौताबाट आएको करोडौँ डलर अमेरिकी बैंकिङ प्रणालीमार्फत कसरी सञ्चालन भयो भन्ने विषयमा अध्ययन गरिरहेका छन्।
अनुसन्धानको मुख्य केन्द्रमा फ्लोरिडामा दर्ता भएको टुरप्रोडएन्टर एलएलसी नामक कम्पनी रहेको बताइएको छ। एएफएको अन्तर्राष्ट्रिय मार्केटिङ तथा आर्थिक व्यवस्थापनका लागि जिम्मेवारी पाएको उक्त कम्पनीमार्फत करिब ४ करोड २० लाख अमेरिकी डलर फ्लोरिडामा वास्तविक गतिविधि नभएका भनिएका केही कम्पनीहरूमार्फत स्थानान्तरण भएको आरोप लगाइएको छ।
अमेरिकी अनुसन्धानकर्ताहरूले खेल व्यवसायसँग सम्बन्धित विज्ञ तथा विभिन्न व्यक्तिहरूसँग बयान लिन थालेका छन्। यी आर्थिक कारोबारहरू कानुनी प्रक्रिया अनुसार भएका हुन् वा रकम लुकाउने तथा कर छलीका लागि प्रयोग भएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
अर्जेन्टिनामै पनि एएफएविरुद्ध अनुसन्धान
एफबीआईको अनुसन्धान सुरु हुनुअघि नै अर्जेन्टिनामा पनि एएफाको आर्थिक गतिविधिमाथि छुट्टै अनुसन्धान चलिरहेको थियो। अर्जेन्टिनाको कर तथा भन्सार निकाय (एआरसीए) ले एएफएको मुख्यालय, राष्ट्रिय प्रशिक्षण केन्द्रसहित रासिङ क्लब, सान लोरेन्सो लगायत १७ वटा व्यावसायिक फुटबल क्लबमा छापा मारेको थियो।
त्यसपछि अर्जेन्टिनाका संघीय न्यायाधीशले एएफए अध्यक्ष क्लाउडियो तापिया र कोषाध्यक्ष पाब्लो तोबिगिनोविरुद्ध करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको कर छली प्रकरणमा मुद्दा दर्ता गरेका थिए। उनीहरूको केही सम्पत्ति रोक्का गर्नुका साथै विदेश यात्रामा समेत प्रतिबन्ध लगाइएको बताइएको छ।
एएफएले आरोप अस्वीकार गर्यो
एएफएले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेको छ। संघले सञ्चारमाध्यममा आएका विवरणलाई ‘पूर्वाग्रही र आधारहीन’ भन्दै खण्डन गरेको थियो।
एएफएले टुरप्रोडएन्टर एलएलसीसँग भएको सम्झौता पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार भएको दाबी गर्दै अर्जेन्टिना र अमेरिकाका अदालतहरूले समेत उक्त सम्झौताको समीक्षा गरिसकेको र कुनै अनियमितता नभेटिएको जनाएको छ।
संघले यी अनुसन्धान र समाचारहरूलाई आफ्नो संस्थालाई कमजोर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानको रूपमा समेत व्याख्या गरेको छ।
विश्वकपमा उपाधि रक्षा गर्ने लक्ष्यसहित अघि बढिरहेको अर्जेन्टिनाका लागि अब मैदानभित्रको प्रतिस्पर्धासँगै आर्थिक अनुसन्धानको दबाब पनि थपिएको छ। एफबीआईको अनुसन्धानले आगामी दिनमा अर्जेन्टिना फुटबल संघको प्रशासनिक र आर्थिक संरचनामाथि ठूलो प्रभाव पार्न सक्ने देखिएको छ।
विश्वकप अभियानकै बीच अर्जेन्टिना फुटबल संघमाथि एफबीआई अनुसन्धान, आर्थिक अनियमितताको आरोप
