वर्तमान विश्व फुटबलका सर्वाधिक घातक स्ट्राइकरमध्ये एक Erling Haaland आफ्नो पहिलो 2026 FIFA World Cup मै असाधारण लयमा देखिएका छन्। हालान्डको शानदार प्रदर्शनमा २८ वर्षपछि विश्वकपमा फर्किएको Norway ले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।
अन्तिम १६ अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा हालान्डले दुई गोल गरेपछि नर्वेले पाँच पटकको विश्व विजेता Brazil लाई २–१ ले पराजित गर्यो। चौथो पटक विश्वकप खेलिरहेको नर्वेका लागि यो ऐतिहासिक उपलब्धि हो भने ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ। यससँगै नर्वेले ब्राजिलविरुद्ध आफ्नो अपराजित यात्रा पाँच खेलसम्म पुर्याएको छ।
पहिलो हाफमा ब्राजिलले पेनाल्टीको अवसर खेर फालेपछि दोस्रो हाफमा हालान्ड चम्किए। उनले ७९औँ मिनेटमा हेडमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयमा Neymar ले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्।
गोल्डेन बुटको दौड थप रोमाञ्चक
हालान्डले जारी विश्वकपमा चार खेलबाट सात गोल गर्दै गोल्डेन बुटको दौडलाई रोमाञ्चक बनाएका छन्। उनले Kylian Mbappé र Lionel Messi सरह सात गोल गरेका छन्। दुई असिस्टका कारण एमबाप्पे शीर्ष स्थानमा छन् भने कम समय खेलेका मेसी दोस्रो स्थानमा छन्। हालान्ड र मेसीको नाममा भने हालसम्म कुनै असिस्ट छैन।
हालान्ड खेलेका सबै खेलमा गोल

नर्वेले विश्वकपमा हालसम्म पाँच खेल खेल्दा चारमा जित निकालेको छ। समूह चरणमा फ्रान्ससँगको एकमात्र हारको खेलमा हालान्डलाई आराम दिइएको थियो। उनले खेलेका चारै खेलमा गोल गरेका छन्—इराक र सेनेगलविरुद्ध दुई–दुई गोल, आइभरी कोस्टविरुद्ध एक गोल र ब्राजिलविरुद्ध दुई गोल।
अब नर्वेले क्वाटरफाइनलमा सहआयोजक Mexico र England बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट लयमा रहेका हालान्डसँग आफ्नो गोल संख्या अझ बढाउने अवसर हुनेछ।
क्लब फुटबलमा Manchester City का लागि लगातार गोल गर्दै आएका हालान्ड राष्ट्रिय टोलीमा पनि त्यत्तिकै प्रभावशाली छन्। उनले नर्वेका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरिसकेका छन्। ६० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीमध्ये उनको गोल औसत (प्रति १.१५ खेलमा एक गोल) सबैभन्दा उत्कृष्ट मानिन्छ। पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा उनले नर्वेका लागि २७ गोल गर्दै आफू अहिले विश्व फुटबलकै सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक भएको प्रमाणित गरेका छन्।
