Abiral Awaj

२०८३ असार ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३० गते

विश्वकप यात्राको अर्को परीक्षा: लिग–२ शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिदेशीय शृङ्खलाका लागि नेदरल्यान्ड्स जाने राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको कार्यक्रममा टोलीलाई सफल यात्राको शुभकामना दिँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरिएको थियो।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित लिग–२ शृङ्खला जुलाई २१ देखि सुरु हुनेछ। त्यसअघि नेपाली टोलीले जर्सीमा तयारी क्याम्प गर्नेछ भने जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल खेलेर युरोपेली अवस्थासँग आफूलाई अभ्यस्त बनाउनेछ।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले गत वर्ष स्कटल्यान्ड भ्रमणमा देखाएको उत्कृष्ट प्रदर्शनलाई यसपटक पनि दोहोर्‍याउने विश्वास व्यक्त गरे। उनले टोलीको वर्तमान लय सकारात्मक रहेको उल्लेख गर्दै आगामी केही महिना नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने बताए। लिग–२ शृङ्खलासँगै नेपाल प्रिमियर लिग (एनपीएल) पनि आयोजना गर्नुपर्ने भएकाले व्यस्त तालिका रहेको उनको भनाइ थियो।


टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताउँदै पछिल्लो एक सातादेखि खेलाडीहरू फिटनेसमा विशेष ध्यान दिइरहेको जानकारी दिए। उनले विश्वकप छनोटको यात्रामा बाँकी रहेका लिग–२ का सबै खेल अत्यन्त महत्वपूर्ण भएकाले टोली उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताए।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई अनावश्यक दबाब नलिई आत्मविश्वासका साथ खेल्न सुझाव दिए। उनले हालै घरेलु मैदानमा भएको सफल प्रदर्शनले टोलीको मनोबल बढाएको उल्लेख गर्दै विदेशी भूमिमा पनि त्यही लय कायम रहने विश्वास व्यक्त गरे।


नेपालले केही साताअघि घरेलु मैदानमा सम्पन्न दुई लिग–२ शृङ्खलामा ८ मध्ये ६ खेल जित्दै अंकतालिकामा उल्लेखनीय सुधार गरेको थियो। यही आत्मविश्वासलाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली युरोप भ्रमणमा निस्किएको हो।
यस शृङ्खलाका लागि टोलीको व्यवस्थापकमा क्यानका सदस्य श्रीधर केसी नियुक्त भएका छन्। यता मुख्य प्रशिक्षक स्टुअर्ट लक भने पासपोर्ट नवीकरणसम्बन्धी प्रक्रियाका कारण केही समयपछि टोलीसँग जोडिने क्यानले जनाएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.