Abiral Awaj

२०८३ असार २० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार २० गते

एनपीएल: काठमाडौं गोर्खाज क्रिकेटकाे नेतृत्व अब शरदकाे हातमा

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद वेसावकरलाई क्रिकेट निर्देशक (Cricket Director) मा नियुक्त गरेको छ।
एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजबाट खेलिसकेका शरद अब काठमाडौं गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष तथा खेलाडी विकासको नेतृत्वदायी भूमिकामा रहनेछन्। क्लबले शरदको अनुभवले टोलीलाई मैदानभित्र र मैदानबाहिर दुवै क्षेत्रमा थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी प्रत्येक सिजन आफ्नो क्रिकेट व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै आएका छौं। शरदजस्ता अनुभवी व्यक्तित्वको साथले टोलीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। उहाँसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं।”


सन् २००२ मा यूएईमा आयोजित एसीसी यू–१५ एसिया कपबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका शरदले यू–१७, यू–१९ हुँदै २००४ मा नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए भने २०१८ मा नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय टोलीका सदस्य पनि थिए।
प्रथम श्रेणी क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रनको कीर्तिमान पनि शरदकै नाममा छ, जुन उनले २००५ मा यूएईविरुद्ध इन्टरकन्टिनेन्टल कपमा बनाएका थिए। गत वर्ष हङकङ सुपर सिक्स प्रतियोगितापछि उनले आफ्नो सफल खेल जीवनबाट संन्यास घोषणा गरेका थिए।
घरेलु क्रिकेटमा सफल कप्तानका रूपमा चिनिएका शरदको नेतृत्वमा विभिन्न फ्रेन्चाइज टोलीले तीन उपाधि जितेका थिए भने नेपाल एपीएफ क्लबले पनि टी–२० र ५० ओभरका दुई प्रमुख घरेलु प्रतियोगिता जितेको थियो।
नियुक्तिपछि शरदले काठमाडौं गोर्खाजप्रति आभार व्यक्त गर्दै भने, “काठमाडौं मेरो आफ्नै शहर हो। यही शहरको प्रतिनिधित्व गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। टुँडिखेल, खुलामञ्च, भण्डारखालदेखि सिफलसम्मका मैदानसँग मेरा धेरै सम्झना जोडिएका छन्। फ्रेन्चाइज क्रिकेटमा प्राप्त अनुभवलाई उपयोग गर्दै काठमाडौं गोर्खाजलाई सफल बनाउनेमा म विश्वस्त छु। आउँदो सिजनलाई चुनौती र अवसर दुवैका रूपमा लिएको छु र आफ्नो शतप्रतिशत दिनेछु।”

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.