फिफा विश्वकप २०२६ को नकआउट चरणमा आज सबैभन्दा प्रतीक्षित खेलमध्ये एकमा पाँच पटकको विश्वविजेता ब्राजिल र एसियाली शक्ति जापान आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुने यो खेलमा विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

ब्राजिल समूह ‘सी’ को विजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो। पहिलो खेलमा मोरोक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलले त्यसपछि हैटी र स्कटल्यान्डलाई समान ३–० गोलअन्तरले पराजित गर्दै समूह शीर्षस्थान सुरक्षित गरेको थियो।
यता, जापान समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। तीन खेलमा अपराजित रहेको जापानले स्विडेनसँग १–१ तथा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो भने ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकालेको थियो।

जापान लगातार तेस्रो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो। अझ गत अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गरेको स्मरणीय नतिजाले टोलीको आत्मविश्वास थप बलियो बनाएको छ।
ह्युस्टन स्टेडियममा हुने यस रोमाञ्चक भिडन्तमा अनुभव र इतिहास बोकेको ब्राजिल तथा उत्कृष्ट लयमा रहेको जापानबीचको प्रतिस्पर्धाले विश्व फुटबल समर्थकको ध्यान तानेको छ।
