अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ मा समूह चरणले फुटबल समर्थकलाई दुर्लभ र रोचक दृश्य देखाएको छ। एउटै प्रतियोगितामा एउटा टोलीले एक खेल पनि नजिती नकआउट चरणमा स्थान बनाउँदा अर्को टोली भने एक खेल पनि नहारेर समूह चरणबाटै बाहिरिएको अनौठो घटना भएको हो।
विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भर्डे ले समूह ‘एच’ का तीनवटै खेल बराबरी खेल्दै ३ अंक जोड्यो र दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो। केप भर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेन लाई गोलरहित बराबरीमा रोक्यो। दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वे सँग २–२ को रोमाञ्चक बराबरी खेल्यो भने अन्तिम खेलमा साउदी अरेबिया सँग पनि ०–० को बराबरीमा रोकियो।
उक्त समूहबाट स्पेन ७ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्यो। उरुग्वे २ अंकसहित तेस्रो तथा साउदी अरेबिया पनि २ अंकमै पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए।
यता, समूह ‘जी’ मा इरान ले पनि तीनवटै खेल बराबरी खेलेर अपराजित यात्रा कायम राख्यो। इरानले पहिलो खेलमा न्युजिल्यान्ड सँग २–२, दोस्रो खेलमा बेल्जियम सँग ०–० र अन्तिम खेलमा इजिप्ट सँग १–१ को बराबरी खेलेको थियो। तर केवल ३ अंकमै सीमित भएपछि इरानको यात्रा समूह चरणमै टुंगियो।
यस समूहबाट बेल्जियम र इजिप्ट समान ५–५ अंकसहित नकआउट चरणमा प्रवेश गर्दा इरान ३ अंकसहित तेस्रो स्थानमा रह्यो। न्युजिल्यान्ड १ अंकसहित अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
एउटै विश्वकपमा जितविनै नकआउट पुग्ने केप भर्डे र हारविनै बाहिरिने इरानको कथा यस संस्करणको सबैभन्दा अनौठो र चर्चित घटनामध्ये एक बनेको छ।
जित बिना इतिहास र हार बिना बिदाइ ! विश्वकपमा केप भर्डेको चमत्कार, इरानको दुर्भाग्य
