कपिलवस्तु। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सन कपिलवस्तुको १५औँ साधारण सभा तथा प्रतिभा सम्मान कार्यक्रम बाणगंगा नगरपालिका–५ स्थित अन्नपूर्ण विद्या मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य आकर्षण २०८३ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका एनप्याब्सन आबद्ध विद्यालयका उत्कृष्ट ६ जना विद्यार्थीको सम्मान रह्यो। छात्रातर्फ ४.०० जीपीए प्राप्त गर्ने फफुरी इङ्लिस बोर्डिङ स्कुलकी सान्भी सिंह, ३.९२ जीपीएसहित अन्नपूर्ण विद्या मन्दिरकी रीतिका अर्याल तथा ३.७७ जीपीए ल्याएकी कपिलवस्तु शान्ति निकेतनकी कृतिका शुक्ला सम्मानित भए।

त्यस्तै छात्रतर्फ आदर्श विद्या मन्दिरका सिद्धान्त सिंह चौधरी (३.९२ जीपीए), गोरखनाथ एकेडेमीका प्रेम चौधरी (३.८६ जीपीए) र फफुरी इङ्लिस बोर्डिङ स्कुलका सुजल केसी (३.७९ जीपीए) लाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
उत्कृष्ट विद्यार्थीलाई एनप्याब्सनका केन्द्रीय सचिव प्रकाश गैरे, जिल्ला अध्यक्ष युवराज घिमिरे, कपिलवस्तु स्टेशनरी व्यवसायी सङ्घका निवर्तमान जिल्ला अध्यक्ष अर्जुन चापागाईं, जिल्ला सचिव कपिल घिमिरे तथा कोषाध्यक्ष परमात्मा चौधरी लगायतले सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव प्रकाश गैरेले संस्थागत विद्यालयप्रति सरकारको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको टिप्पणी गरे। उनले सरकारले लागू गरेको ३ प्रतिशत समता शुल्कले विद्यालय, विद्यार्थी र अभिभावक सबैलाई अन्योल र मानसिक दबाबमा पार्ने अवस्था सिर्जना गरेको बताए। संस्थागत विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक नतिजामार्फत राष्ट्रिय शिक्षा प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै निजी शिक्षाप्रति सरकारको नीति सहयोगी हुनुपर्ने धारणा व्यक्त गरे।

जिल्ला अध्यक्ष युवराज घिमिरेले पनि समता शुल्क कार्यान्वयनको स्पष्ट व्यवस्था नहुँदा विद्यालयहरू अन्योलमा परेको बताए। उनले जिल्लासँगै स्थानीय तह र स्रोत केन्द्रस्तरका विद्यालयलाई थप सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
अन्नपूर्ण विद्या मन्दिरका प्राचार्य प्रकाश भुसालले उत्कृष्ट विद्यार्थीलाई गरिएको सम्मानले उनीहरूमा थप आत्मविश्वास र प्रेरणा जगाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा कोषाध्यक्ष परमात्मा चौधरीले आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको ४ लाख ४३ हजार ९ सय २४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने जिल्ला सचिव कपिल घिमिरेले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना सार्वजनिक गरेका थिए।

एनप्याब्सनका सदस्य कबिर सुनारले विद्यार्थीको हौसला अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए।
हाल एनप्याब्सन कपिलवस्तुमा जिल्लाभरका ४७ वटा संस्थागत विद्यालय आबद्ध रहेको जनाइएको छ।
