मेटा कम्पनीका लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित विश्वभर प्राविधिक समस्या देखिएको छ। समस्याका कारण लाखौँ प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको तथा पुनः लग-इन गर्न कठिनाइ भएको गुनासो गरेका छन्।
शुक्रबार साँझदेखि सुरु भएको अवरोधका कारण प्रयोगकर्ताले फेसबुकमा प्रवेश गर्ने प्रयास गर्दा ‘अनपेक्षित त्रुटि’ (Unexpected Error) वा ‘केही गलत भयो’ (Something Went Wrong) जस्ता सन्देशहरू देखिएका थिए। यसले गर्दा धेरै प्रयोगकर्ता आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका थिए।
यो समस्या फेसबुक र म्यासेन्जरका मोबाइल एप तथा वेब संस्करण दुवैमा देखिएको थियो। मेटाका अन्य सेवा इन्स्टाग्राम र ह्वाट्सएप भने अधिकांश समय सञ्चालनमै रहे पनि इन्स्टाग्रामको वेब संस्करणमा समेत केही समस्या देखिएको रिपोर्ट प्राप्त भएको थियो।
विश्वभरका प्रयोगकर्ताले सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममार्फत सेवा अवरुद्ध भएको जानकारी साझा गरेका थिए। यद्यपि मेटाले समस्याको कारणबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन।
अपडेट: शुक्रबार राति करिब ८ बजेदेखि फेसबुक र म्यासेन्जरको सेवा क्रमशः सामान्य अवस्थामा फर्किएको छ। अधिकांश प्रयोगकर्ताले पुनः आफ्नो एकाउन्टमा सहज पहुँच प्राप्त गर्न थालेका छन्। तथापि, समाचार तयार पार्दासम्म मेटाले यस प्राविधिक समस्याको कारणबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
