नेपालले सिंगापुरमा सम्पन्न एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। फाइनलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ–लुइस–स्टर्न (डीएलएस) विधिअनुसार नेपाल १९ रनले अगाडि रहेको ठहर गर्दै विजेता घोषणा गरिएको थियो। १ सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको शानदार अर्धशतकीय इनिङ्स खेले। सुरुआती ब्याट्सम्यान आसिफ शेख शून्यमै आउट भए पनि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि महत्वपूर्ण ६३ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। रोहित पौडेल ३५ रनमा तथा आफ्नो एक सयौं टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा अविजित थिए।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रनमा सीमित गरेको थियो। हङकङका लागि अंशुमन रथले ८० रनको उत्कृष्ट इनिङ्स खेले भने सहिद वासिफले ५५ र शिव माथुरले २६ रन जोडे।
नेपालका बलरमध्ये शेर मल्लले ४ विकेट लिएर हङकङको ब्याटिङ लाइनअप ध्वस्त पारे। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
यस उपाधिसँगै नेपालले प्रतियोगितामा आफ्नो दबदबा प्रमाणित गरेको छ। नेपाल, हङकङ, ओमान र मलेसिया यसै वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि यसअघि नै छनोट भइसकेका छन्। उपाधि जित्दै नेपालले आगामी प्रतियोगिताका लागि थप आत्मविश्वास समेत हासिल गरेको छ।
