कुशल भुर्तेल र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले यूएईलाई अन्डर लाइट्स टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा ८ विकेटले पराजित गरेको छ। यससँगै दुई खेलको सिरिज १–१ को बराबरीमा समाप्त भएको छ।
यो जितसँगै कप्तानका रूपमा दीपेन्द्र सिंह ऐरीले पहिलो जित हात पारेका छन् भने प्रशिक्षक स्टुआर्ट लको पनि घरेलु मैदानमा पहिलो जित बनेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनायो।
नेपालका लागि हेमन्त धामीले इनिङ्सको पहिलो बलमै कप्तान मोहम्मद वासिमलाई शून्यमै आउट गर्दै शानदार सुरुआत दिलाए। त्यसपछि अंक सना, हर्पित सिंह, अदिब उस्मानी, सोहेब खान लगायतका ब्याट्सम्यानलाई सस्तोमै समेट्दै नेपालले यूएईलाई दबाबमा राख्यो।

सन्दीप लामिछानेले फेरि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर ३ विकेट लिए। उनले लगातार दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुई खेलमा कुल ६ विकेट लिए। हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट लिए।
यूएईका लागि अक्सदीप नाथले संघर्षपूर्ण अर्धशतक बनाउँदै ४२ बलमा ५३ रन बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। मुहम्मद अर्फानले ३२ रनको योगदान दिए।
१२९ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमै २ विकेट गुमाएर सहज जित निकाल्यो। आजको खेलमा ओपनिङमा कुशल भुर्तेल र कुशल मल्ल आएका थिए। अर्जुन साउदलाई विश्राम दिँदै मल्ललाई अवसर दिइएको थियो।
दुवै कुशलले नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। कुशल मल्ल १७ बलमा १९ रन बनाएर आउट भए। उनले १ चौका र २ छक्का प्रहार गरे।
डेब्यु खेल खेलिरहेका सन्तोष यादव १ रन बनाएर रनआउट भए पनि कुशल भुर्तेलले आक्रामक ब्याटिङ जारी राखे। उनले ३१ बलमा ९ चौका र १ छक्का सहित अर्धशतक पूरा गरे, जुन उनको टी–२० अन्तर्राष्ट्रिय करियरको १४औं अर्धशतक हो।
त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर कुशलले अविजित ५८ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याए।
कुशल भुर्तेल ५७ बलमा १२ चौका र २ छक्का सहित शानदार अविजित ८४ रनमा रहे। कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहे।
पहिलो खेलमा पराजित भएको नेपालका लागि यो जित सिरिज बचाउने मात्र नभई आत्मविश्वास बढाउने महत्वपूर्ण अवसर पनि बन्यो। शानदार जितसँगै नेपालले सिरिज बराबरीमा टुंग्याएको छ।
