कपिलवस्तु— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार सुरु भएको कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए। अभिमुखीकरणको पहिलो दिन भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह सहभागी भएका थिएनन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, लामिछाने र बालेन शाह दुवै नेता आजको समापन कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ। उपसभापति अर्यालले पनि सम्भव भएसम्म दुवै नेताको उपस्थिति रहने बताएका छन्।
यद्यपि, रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा बुधबार सभापति लामिछानेको सहभागिता उल्लेख भए पनि बालेन शाहको सहभागिताबारे स्पष्ट जानकारी दिइएको छैन।
रास्वपाको अभिमुखीकरण आज समापन, रवि लामिछानेले सम्बोधन गर्ने
