भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधि जितेको छ। अहमदाबादमा आइतबार सम्पन्न फाइनल खेलमा शानदार प्रदर्शन गर्दै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकप जित्दै नयाँ इतिहास रचेको हो। यससँगै भारत समग्रमा तीन पटक टी–२० विश्वकप जित्ने पहिलो टोली समेत बनेको छ।
टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गर्यो। यो टी–२० विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर मानिएको छ।
भारतका लागि सञ्जु स्यामसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८ छक्का र ५ चौकाको मद्दतले ८९ रन बनाए। त्यस्तै अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन जोडे। इशान किशनले पनि आक्रामक खेल प्रस्तुत गर्दै २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। यी तीन खेलाडीको दमदार ब्याटिङले भारतलाई ठूलो स्कोर बनाउन महत्वपूर्ण भूमिका खेल्यो।
२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डको टोली भने दबाबमा पर्यो। न्युजिल्यान्ड १९ ओभरमै १५९ रनमा अलआउट भयो। टोलीका लागि टिम सिफर्टले ५२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
भारतका बलरहरू पनि उत्कृष्ट देखिए। जसप्रित बुमराहले ४ विकेट लिँदै न्युजिल्यान्डको ब्याटिङ लाइनअपलाई धराशायी बनाए। अक्षर पटेलले पनि ३ विकेट लिएर टोलीको जित सुनिश्चित गर्न योगदान दिए।
यस जितसँगै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न सफल भएको छ। साथै तेस्रो पटक उपाधि जित्दै भारतले क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ।
भारतको ऐतिहासिक सफलता: न्युजिल्यान्डलाई ९६ रनले हराउँदै टी–२० विश्वकप २०२६ को उपाधि
