Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

अन्नपूर्ण इङ्लिस बोर्डिङ स्कुलमा अभिभावक भेला, खाना महोत्सव र शैक्षिक प्रदर्शनी भव्य रूपमा सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका-५, कोपवामा अवस्थित अन्नपूर्ण स्कुलले अभिभावक भेला, खाना महोत्सव, शैक्षिक प्रदर्शनी, खेलकुद सप्ताहको पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


विद्यालयकै प्राङ्गणमा सम्पन्न कार्यक्रमको अध्यक्षता यसै स्कुलका प्रिन्सिपल प्रकाश भुसालले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुनिका भुसालले उत्घाटन गर्नुभएको थियो। कार्यक्रममा एन प्याब्सन कपिलवस्तु जिल्लाका अध्यक्ष युवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। विद्यालयका निर्देशक कपिल घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


कार्यक्रममा विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, नाटक तथा सिर्जनात्मक कलाले कार्यक्रमलाई अत्यन्तै आकर्षक बनाएको थियो। शैक्षिक प्रदर्शनीअन्तर्गत विज्ञान, गणित, भाषा, सामाजिक अध्ययन तथा प्रविधिसँग सम्बन्धित विभिन्न मोडल, चार्ट र परियोजनाहरू प्रदर्शन गरिएको थियो।


खाना महोत्सवमा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न परिकारहरू अभिभावक तथा आगन्तुकहरूलाई बिक्री गरेका थिए। यस गतिविधिले विद्यार्थीहरूमा बोल्ने क्षमता, आत्मविश्वास, सहकार्य तथा सानो स्तरको व्यावसायिक सीप विकास गर्न महत्त्वपूर्ण योगदान पुऱ्याएको विद्यालयले जनाएको छ।


साथै, विद्यार्थीहरूले निर्माण गरी प्रस्तुत गरेका प्रविधिसम्बन्धी उपकरणहरूले उनीहरूको प्राविधिक ज्ञान र सिर्जनशीलता अभिवृद्धि भएको देखिएको सहभागीहरूको भनाइ छ।
खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास र शैक्षिक क्षमताले विद्यालयको गुणस्तरीय शिक्षाको स्पष्ट झल्को दिएको प्रतिक्रिया दिएका थिए।


लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय अन्नपूर्ण इङ्लिस बोर्डिङ स्कुल अनुशासन, शैक्षिक उपलब्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षण पद्धतिका कारण कपिलवस्तु जिल्लाकै विश्वासिलो र अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित हुँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.