धादिङ जिल्लामा मध्यराति भएको यात्रुबाहक बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
राति करिब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिका–५स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीको किनारमा खसेको हो।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाल प्रहरी र नेपाल सेना पनि खटिएका थिए।
प्रहरीका अनुसार रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको छ। मृत्यु भएका सबैको शव घटनास्थलमै रहेको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको शैलेन्द्र थापाले जानकारी दिएका छन्। मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।
बस त्रिशूली किनारमा खस्दा १७ को मृत्यु
