आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकसँग प्रत्यक्ष जोडिने नागरिक करारपत्र सार्वजनिक गरेको छ। करारपत्रमार्फत पार्टीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, आफ्ना प्राथमिकता र दीर्घकालीन लक्ष्यहरू स्पष्ट पारेको छ।
रास्वपाले बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै सामाजिक न्यायमा आधारित उदार अर्थनीति अवलम्बन गर्ने प्रतिवद्धता जनाएको छ। सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान तथा धार्मिक–सांस्कृतिक विविधताको संरक्षणलाई करारपत्रका प्रमुख आधारका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, सन्तुलित परराष्ट्र नीति अपनाउँदै नेपाली डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने लक्ष्य पार्टीले अघि सारेको छ।
राजनीतिक सुधारका सन्दर्भमा रास्वपाले दलीयकरणको अन्त्य गर्ने स्पष्ट अडान लिएको छ। साथै, २०४६ सालदेखि हालसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव पनि नागरिक करारपत्रमा समेटिएको छ। पार्टीका अनुसार, नागरिकसँग गरिएको यो करार राजनीतिक पारदर्शिता, जवाफदेहिता र विश्वास पुनःस्थापनाको आधार बन्नेछ।
