Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

विश्वकपमा फेरि दिल छोएको कथा: नेपाल ४ रनले इङ्ल्यान्डसँग पराजित

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८२ रनको महत्वपूर्ण साझेदारी गरे पनि नेपाल टि–२० विश्वकपमा जितको नजिक पुगेर फेरि चुक्न पुगेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भयो।
इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो। नेपाललाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो तर पाँच रन मात्र जोड्न सक्दा हार व्यहोर्नु पर्‍यो। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको स्मृति यस खेलले फेरि ताजा गरिदियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। रोहित पौडेलले २९ बलमा ६ चौका र १ छक्कासहित ३९ रन जोडे। दीपेन्द्र १४.२ ओभरमा श्याम करनको बलमा आउट भएपछि नेपालको ब्याटिङ क्रम दबाबमा आयो। त्यसको अर्को ओभरमा रोहित पनि आउट भए।
ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रनको आक्रामक सुरुवात दिलाए। आसिफ शेखले ७ र आरिफ शेखले १० रन बनाए। लोकेश बमले अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र २ छक्कासहित नटआउट ३९ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। कप्तान ह्यारी ब्रुक र ज्याकब बेथेलले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे। बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए भने ब्रुकले ३२ बलमा ५३ रन जोडे।
नेपालका लागि डेब्यु खेल खेलेका शेर मल्लले पहिलो बलमै फिल साल्टको विकेट लिएर दर्शकलाई रोमाञ्चित बनाए। दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
नेपाल र इङ्ल्यान्डबीचको यो रोमाञ्चक खेल हेर्न वाङ्खडे स्टेडियममा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति रहेको थियो। हार भए पनि नेपालको साहसी प्रदर्शनले समर्थकको मन जित्न सफल भयो।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.