श्रीलंकामा सम्पन्न पहिलो खेलमा दबाबका बीच पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कोलम्बोस्थित सिन्हालीज स्पोर्ट्स क्लब (एसएससी) मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानका ओपनर साइम अयुब र साहिबजादा फरहानले आक्रामक सुरुवात गरे। साइमले १३ बलमा ४ चौका र १ छक्कासहित २४ रन जोडे तर स्पिनर आर्यन डटको बलमा आउट भए। त्यसपछि फरहान र कप्तान सलमान अली आघाले पाँच ओभरभित्रै ५० रनको साझेदारी गरे। तर डटले सलमानलाई ८ बलमा १२ रनमै आउट गरेपछि पाकिस्तान ४.५ ओभरमा ५३–२ को अवस्थामा पुगेको थियो।
फरहानले एक छेउ सम्हाल्दै इनिङ्स अघि बढाए भने बाबर आजमले सुरुआतमा संघर्ष गरे। फरहान ३१ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर रूएलफ भान डर मर्वेको बलमा आउट भए। त्यसबेला पाकिस्तान ११.१ ओभरमा ९८–३ को स्थितिमा थियो। सोही ओभरमा उस्मान खान शून्यमा आउट भए भने बाबर पनि १५ रनमै पवेलियन फर्किए।
त्यसपछि मोहम्मद नवाज (६) र शादाब खान (८) सस्तोमा आउट हुँदा पाकिस्तान दबाबमा आयो। तर अन्त्यतिर फहिम अशरफ र शाहिन शाह अफ्रिदीले जिम्मेवारी सम्हाल्दै टोलीलाई जिततर्फ डोर्याए। फहिमले लगातार दुई छक्का प्रहार गर्दै खेलको मोड बदलिदिए। उनले ११ बलमा २ चौका र ३ छक्कासहित अविजित २९ रनको उत्कृष्ट इनिङ खेल्दै पाकिस्तानलाई स्मरणीय जित दिलाए।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले माइकल लेभिट र म्याक्स ओ’डाउडमार्फत आक्रामक सुरुवात गरेको थियो। तर चौथो ओभरमा सलमान मिर्जाले ओ’डाउडलाई ५ रनमै आउट गरे। पाँचौं ओभरमा मोहम्मद नवाजले १५ बलमा २४ रन बनाएका लेभिटलाई आउट गरे, जसमा बाबर आजमले बाउन्ड्री नजिक उत्कृष्ट फिल्डिङ गर्दै क्याच गराए।
बस डे लिडे र कोलिन एकरम्यानले इनिङ्स सम्हाल्दै पावरप्लेभित्र ५० रन पुर्याए। तर आठौं ओभरमा अब्रार अहमदले एकरम्यानलाई २० रनमा आउट गरेपछि नेदरल्यान्ड्स ६५–३ मा सीमित भयो। कप्तान स्कट एडवर्ड्सले २९ बलमा ३७ रन बनाए तर अब्रारकै बलमा आउट भए। अन्त्यतिर साइम अयुब, शाहिन अफ्रिदी र सलमान मिर्जाले लगातार विकेट लिँदा नेदरल्यान्ड्स २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनमै समेटियो।
पाकिस्तानका लागि सलमान मिर्जाले ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। मोहम्मद नवाज, अब्रार अहमद र साइम अयुबले समान दुई–दुई विकेट लिए भने शाहिन अफ्रिदीले १ विकेट हात पारे।
विश्वकपको पहिलो दिन आज थप दुई खेल हुँदैछन्। आज नेपाल रहेको समूहमा वेस्ट इन्डिज र स्कटल्यान्डबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ भने अर्को खेल भारत र अमेरिकाबीच हुनेछ।
दबाबपूर्ण खेलमा फहिम–शाहिन चम्किँदा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो
