आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गतको दोस्रो वार्मअप खेलमा नेपालले क्यानडामाथि सहज जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गर्दै वार्मअप खेलमा लगातार दोस्रो जित दर्ता गर्यो।
क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। यसअघि नेपालले पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालको जितमा आशिफ शेख नायक बने। उनले २९ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको आक्रामक पारी खेले। सन्दीप जोरा ४४ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेल १२ रनमै पवेलियन फर्किए। अन्त्यतिर गुलसनकुमार झाले अविजित ३१ रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका नवनित धालिवलले ३६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए। श्रीयस मोब्बाले ३८ रन जोड्दा कँवरपाद तथगुरले २५ रनको योगदान दिए।
नेपालतर्फ बलिङमा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदै क्यानडालाई मध्यम स्कोरमा सीमित गरेका थिए।
आशिफ शेखको विस्फोटक अर्धशतकमा नेपालले क्यानडालाई ६ विकेटले हरायो
