आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ। मंगलबार चेन्नईस्थित ऐतिहासिक एमए चिदाबरम स्टेडियममा सम्पन्न खेलमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनले नेपाललाई सहज जित दिलायो।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। संकटपूर्ण अवस्थामा ४५–३ को स्कोर हुँदा मैदानमा आएका आरिफ र दीपेन्द्रले शतकीय साझेदारी गर्दै खेलको दिशा नै परिवर्तन गरे। आरिफ शेखले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रसिंह ऐरीले ३१ बलमा नटआउट ५० रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए।
नेपालका बलरहरूले पनि प्रभावशाली प्रदर्शन गरे। करण केसी र सन्दीप लामिछानेले २–२ विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो वार्म अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। टी–२० विश्वकपको मुख्य प्रतियोगितामा नेपालले पहिलो खेल फेब्रुअरी ८ मा बलियो टोली इंग्ल्यान्डविरुद्ध खेल्ने कार्यक्रम छ।
ऐरी–शेखको विस्फोटक अर्धशतक, वार्म अप खेलमै यूएईमाथि नेपालको शानदार जित
