- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८५ वर्षको राजनीतिक परिवर्तनपछि पनि नेपालको सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन्। शुक्रबार शहीद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
राणाशासनको अन्त्यका लागि संघर्ष गर्दै बलिदान दिएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको क्रूर हत्या भएको ८५ वर्ष पूरा भएको स्मरण गर्दै बालेनले भने, “त्यसको १० वर्षपछि राणाशासन त अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन।”
उनले पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना अझै पूरा हुन नसकेको बताए। “८५ वर्ष पहिलेजस्तै यसपटक पनि भदौको जेन–जी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो,” उनले उल्लेख गरे।
बालेनले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै भने, “लामो समयदेखि जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु हाम्रो काँधमा आएको जिम्मेवारी हो।” राज्यका निकायहरूमा भएको चरम दलीयकरण अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
“यी शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,” उनले लेखेका छन्, “अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश बनाउने।”
सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै बालेनले मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने समय आएको उल्लेख गरे। “फेरि कसैले शहीद बन्नु नपरोस्। सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली,” उनले भने।
८५ वर्षमा व्यवस्था फेरियो, तर सत्ता फेरिएन : शहीद दिवसमा बालेनको कडा टिप्पणी
