Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

लुम्बिनी लायन्सका नायक शेरदेखि संकटमोचक बसिरसम्म, विश्वकप टोलीका नयाँ अनुहार

लुम्बिनी लायन्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा स्पिनर शेर यसपटक नेपाली क्रिकेटका मुख्य आकर्षण बनेका छन्। मिस्ट्री स्पिनमार्फत विपक्षी ब्याटरलाई निरन्तर दबाबमा राख्न सफल शेरले पावरप्लेमै विकेट निकाल्दै टोलीलाई सुरुवाती सफलता दिलाएका थिए।
उनको उत्कृष्ट प्रदर्शनपछि कप्तान रोहित पौडेलले शेरको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिएका थिए। त्यही विश्वासअनुसार शेर अब विश्वकप खेल्ने नेपाली टोलीमा समेत समावेश भएका छन्। तल्लोक्रममा ब्याटिङमार्फत पनि योगदान दिन सक्ने उनी यस संस्करणको एनपीएलमा बलिङतर्फ सबैभन्दा प्रभावशाली खेलाडी सावित भए। १० खेलमा १७ विकेट लिँदै उनी संयुक्त रूपमा शीर्ष विकेट–टेकर बनेका थिए।
शेरको मिस्ट्री स्पिन वाङ्खडे स्टेडियमको पिचमा पनि सहयोगी बन्न सक्ने अनुमान गरिएको छ। यसअघि यू–१९ र नेपाल ‘ए’ टोलीबाट खेलिसकेका शेर अब राष्ट्रिय टोलीबाट आफ्नो क्षमता देखाउने तयारीमा छन्।
संकटका बेला भरोसायोग्य पात्र बसिर अहमद
विराटनगर किङ्सबाट लगातार दुई सिजन एनपीएल खेलेका बसिर अहमद संकटको समयमा टिमलाई सम्हाल्न सक्ने खेलाडीका रूपमा चिनिएका छन्। यसअघि नेपाल ‘ए’ र राष्ट्रिय टोलीबाट खेलिसकेका बसिर निरन्तर टोलीमा स्थान बनाउन भने संघर्षरत रहँदै आएका थिए।
तर घरेलु क्रिकेट र नेपाल ‘ए’ टोलीबाट मध्यक्रममा उनले आफूलाई भरपर्दो ब्याटरका रूपमा प्रमाणित गरिसकेका छन्। यस संस्करणको एनपीएलमा ९ खेल खेल्दै १९१ रन बनाएका बसिरले दबाबपूर्ण अवस्थामा पनि जिम्मेवारी सम्हाल्न सक्ने क्षमता देखाए।
कर्णाली याक्सविरुद्धको खेलमा संघर्षपूर्ण अवस्थाबाट टोलीलाई जित दिलाउनुका साथै हङकङमा भएको चारदेशीय टी–२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२–८ को कठिन अवस्थामा नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। यद्यपि, नेपाल त्यो खेल ३ रनले पराजित हुन पुग्यो।
आदिल र कुशल विश्वकप टोलीमा अटाएनन्
यसैबीच, टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका आदिल आलम र कुशल मल्ल भने विश्वकप टोलीमा स्थान बनाउन असफल भएका छन्।
आदिल आलमले विश्वकप छनोटका २ खेलमा जम्मा १८ रन बनाएका थिए भने एनपीएलमा ८ खेल खेल्दै ९३ रन मात्र जोड्न सके। यस्तै, कुशल मल्ल पनि पछिल्लो समय राम्रो लयमा देखिन सकेनन्। छनोट चरणका ५ खेलमा ३३ रन बनाएका कुशलले एनपीएलमा ७ खेलमा १३५ रन बनाए पनि बलिङमा मात्र १ विकेट लिन सके।
प्रदर्शनमा निरन्तरता नआएपछि दुवै खेलाडी यसपटकको विश्वकप टोलीबाट बाहिरिएका हुन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.