आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप २०२६ को समूह विभाजन सार्वजनिक भएपछि सबै टोलीले आफ्नो–आफ्नै चुनौती पहिचान गर्न थालेका छन्। सहआयोजक भारत र श्रीलंका फरक–फरक कठिनाइ बोकेका समूहमा परेका छन्। भारत अपेक्षाकृत सहज समूहमा रहेको छ भने श्रीलंका भने कडा प्रतिस्पर्धाको समूहमा छ।
यस पटक नेपाली क्रिकेटप्रेमीका लागि खुसीको खबर भनेको—नेपाल अनुभव बटुलेको टोलीहरूसँगै पर्ने समूहमा परेको छ। आईसीसीका अनुसार नेपाल समूह ‘डी’ मा रहेको छ, जसमा शक्तिशाली वेस्ट इन्डिज, इङ्ल्यान्ड, बंगलादेश र इटाली छन्। क्रिकेट विश्लेषकहरूले यस समूहलाई ‘ग्रुप अफ डेथ’ को रूपमा पनि व्याख्या गरेका छन्।
नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकप खेल्दैछ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको थियो। त्यसपछि नेपाललाई पुनः विश्वमञ्चमा फर्किन करिब १० वर्ष लागेको थियो। यद्यपि, २०२४ मा वेस्ट इन्डिज–अमेरिकामा आयोजित विश्वकपमा नेपाल समूह चरणमै बाहिरिएको थियो। दक्षिण अफ्रिकासँग १ रनले हार नजिकिए पनि नेपालले नेदरल्यान्ड्स र बंगलादेशविरुद्ध ठूलो अन्तरले पराजय भोगेको थियो। श्रीलंकासँग खेल्ने अवसर वर्षाका कारण गुमेको थियो।
यसपटक पनि नेपाल बलियो प्रतिस्पर्धीहरूसँगको समूहमा परेको छ। क्रिकबजका अनुसार २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह चरण अघिल्लो संस्करणझैं राउन्ड रोबिन ढाँचामा हुनेछ। प्रत्येक समूहका शीर्ष २ टोली सुपर–८ मा प्रवेश गर्नेछन्। त्यसपछि फेरि दुई समूह बनाएर राउन्ड रोबिन हुनेछ, जसबाट शीर्ष २–२ टोली नकआउट चरण मा पुग्नेछन्।
नेपालका लागि इङ्ल्यान्ड र इटाली मात्र नयाँ प्रतिद्वन्द्वी हुन्। बंगलादेशसँग नेपालले २०१४ र २०२४ दुवै वर्ष प्रतिस्पर्धा गरिसकेको छ—जहाँ दोस्रो भेटमा नेपालले २१ रनको जित हात पारेको थियो। यस्तै वेस्ट इन्डिजसँग नेपालले २०२४ मा युएईमा भएको टी–२० सिरिज २–१ ले जितेको सम्झना ताजा छ। यदि नेपालले उतिकै लय कायम गर्न सके, सुपर–८ सम्म पुग्ने सम्भावना प्रबल मानिएको छ।
समूह ‘ए’ मा भारतका लागि यात्रा सहज देखिन्छ। भारतसँग पाकिस्तान प्रमुख प्रतिद्वन्द्वी हो भने नेदरल्यान्ड्स, नामिबिया र अमेरिका एसोसिएट टोली हुन्। यद्यपि २०२४ मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको उदाहरण अझै ताजा छ।
श्रीलंका भने कठोर समूह ‘बी’ मा रहेको छ, जहाँ अस्ट्रेलिया, जिम्बावे, आयरल्यान्ड र ओमन छन्। समूह ‘सी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानडा रहेका छन्।
भारतको अभियान अमेरिका विरुद्धबाट सुरु हुनेछ भने पाकिस्तानसँगको बहुप्रतिक्षित खेल कोलम्बो मा हुनेछ। भारतमा हुने खेलहरू मुम्बई, कोलकाता, चेन्नई, दिल्ली, अहमदावाद मा आयोजना हुनेछन्। फाइनल खेल्ने मुख्य विकल्प अहमदावाद हो, तर पाकिस्तान फाइनलमा पुगेको खण्डमा खेल कोलम्बो सारिनेछ।
