दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगर टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत उनको अनुबन्धको औपचारिक घोषणा गरेको हो।
यसअघि टोलीले विभिन्न हिन्टहरूमार्फत फाफको नामबारे चर्चा जगाएको थियो। पहिलो र दोस्रो हिन्टपछि समर्थकहरूबीच अनुमान चलिरहेका थिए भने तेस्रो हिन्टमा एबी डिभिलियर्सको फोटो राखेर अलमल सिर्जना गरिएको थियो। अन्ततः चौथो हिन्टमा फाफले आईपीएलमा लखनउविरुद्ध प्रहार गरेको विशाल छक्का देखाइएपछि, उनी नै खेलाडी भएको स्पष्ट भएको थियो।
अन्ततः विराटनगर किङ्सले डुप्लेसीलाई आफ्नो विदेशी स्टार खेलाडीका रूपमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो।
फाफ डुप्लेसीले दक्षिण अफ्रिकाका लागि ५० टी-२० अन्तर्राष्ट्रिय खेलमा १,५२८ रन बनाएका छन्। समग्र टी-२० करियरमा ४२४ खेलमा ११,९०६ रन जोडेका छन्, जसले उनलाई विश्वका उत्कृष्ट टी-२० ब्याटरमध्ये एक बनाउँछ। साथै, उनी उत्कृष्ट फिल्डर पनि हुन् — उनले टी-२० क्रिकेटमा २११ क्याच समातेका छन्।
उनको आगमनले यस वर्षको एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप आकर्षक बनाउने निश्चित देखिन्छ। विराटनगर किङ्सले फाफको अनुभव र आक्रामक ब्याटिङबाट टोलीलाई बलियो बनाउने अपेक्षा गरेको छ।
