Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

नेपालले उत्कृष्ट प्रदर्शन गर्दै टाइब्रेकरमा भारतलाई ३-० ले पराजित गरेको छ।

फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै टाइब्रेकरमा भारतलाई ३-० ले पराजित गरेको छ। रोमाञ्चक खेलको नायिका बनिन् गोलकिपर अन्जना राना मगर, जसले दुई पेनाल्टी बचाउँदै नेपालको जित सुनिश्चित गरिन्।

टाइब्रेकर सुरु हुनु अघि मुख्य प्रशिक्षक नविन न्यौपानेले पहिलो रोजाइकी गोलकिपर उषा नाथलाई बाहिर राखी अन्जनालाई मैदानमा पठाउने रणनीतिक निर्णय लिएका थिए। उक्त निर्णय पूर्ण रूपमा सफल रह्यो। अन्जनाले भारतको पहिलो पेनाल्टी हातले र तेस्रो पेनाल्टी खुट्टाले रोकिन्, जबकि दोस्रो प्रहार बाहिरिएको थियो।

अघिल्लो वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा पनि अन्जनाले भारतविरुद्ध सेमिफाइनलमा दुई पेनाल्टी रोक्दै चर्चित प्रदर्शन गरेकी थिइन्।

नेपालका तर्फबाट कप्तान अनिता बस्नेतबाहेक सविता राना मगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले सफलतापूर्वक पेनाल्टी गोल गरे।

खेलको ९० मिनेटको निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। पहिलो हाफको ३० औं मिनेटमा भारतकी सौम्य गोगुलोथले गोल गर्दै अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले अनिता बस्नेतको कर्नरबाट हेडमार्फत बराबरी गोल फर्काइन्।

नेपालले खेलभरि उत्कृष्ट संयोजन देखायो। मिना देउवा र सरु लिम्बूका प्रहार नजिक पुगे पनि गोल हुन सकेनन्।
नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित रहेकाले आज कप्तानीको जिम्मा अनिता बस्नेतले सम्हालिन्। प्रशिक्षक न्यौपानेले अघिल्लो खेलको तुलनामा १० खेलाडी परिवर्तन गर्दै नयाँ संयोजन प्रयोग गरेका थिए।

नेपालको सुरुवाती ११: अनिता बस्नेत (कप्तान), उषा नाथ, प्रतिक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई, सरस्वती हमाल, रश्मिकुमारी घिसिङ, र विमला विक।

भारतले भने अघिल्लो खेलबाट सम्पूर्ण सुरुवाती टोली परिवर्तन गर्दै नयाँ र स्थानीय खेलाडीलाई मौका दिएको थियो।

यो जितसँगै नेपालले भारतविरुद्ध पछिल्लो वर्षहरूमा आफ्नो दबदबा कायम राखेको छ, र यो जित नेपाली महिला फुटबलको आत्मबल थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.