त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानको सामना गर्ने भएको छ। भारतको शिलङमा हुने यो खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि भएको उद्घाटन खेलमा इरानले भारतलाई २–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो।
नेपाल र इरानबीच करिब सात वर्षपछि पुनः प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१९ मा भारतमै सम्पन्न हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको सम्झना ताजा छ। सो खेलमा कप्तान रेनुका नगरकोटेले टोलीको नेतृत्व गरेकी थिइन् भने सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा अनिता बस्नेतले एक गोल गर्दै टोलीलाई सानदार जित दिलाएका थिए।
हालको नेपाली टोलीमा त्यतिबेलाका केही अनुभवी खेलाडीहरू — कप्तान साम्बा, अनिता बस्नेत र रेनुका नगरकोटे — अझै पनि सक्रिय छन्, जसले टोलीमा अनुभव र आत्मविश्वास जोड्ने अपेक्षा गरिएको छ।
नेपालले प्रतियोगिताको दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ। यी दुवै खेल फिफा विन्डोमा पर्ने भएकाले नेपालको फिफा र्याङ्किङ सुधारका दृष्टिले पनि महत्वपूर्ण हुनेछन्।
यस मैत्रीपूर्ण श्रृंखलापछि नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल तय भएको छ। तर क्लब प्रतिबद्धताका कारण कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र प्रीति राई उक्त खेलमा सहभागी नहुने सम्भावना छ। साम्बा न्युजिल्यान्डमा र प्रीति जोर्डनमा व्यवसायिक फुटबल खेल्दै आएका छन्।
यस खेलमार्फत नेपाली महिला टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो तयारी र संयोजन परीक्षण गर्ने अवसर पाउनेछ।
