बासुदेव पोखरेल / गुल्मी, २ कात्तिक ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थल मिहाले पानी नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान करिब ९ः५० बजेतिर मिहाले पानी पधेरो नजिकको गोरेटो बाटोमा स्थानीय ६३ वर्षीय मिनबहादुर रोकाहा मृत अवस्थामा भेटिएका हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जैसिथोक बर्बोटबाट प्रहरी सहायक निरीक्षक बशिष्ट यादवको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरीले जनाएको छ। त्यसपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा विशेष वैज्ञानिक अनुसन्धान प्राविधिक (SOCO) टोलीसहित पाँच जनाको समूह खटाइएको थियो।
हाल मृतक रोकाहाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
