Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

रोहित चन्द आफ्नो करिअरको १००औं अन्तर्राष्ट्रिय खेल खेल्दै

एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणअन्तर्गत नेपालले मंगलबार आफ्नो चौथो खेलमा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । खेल भियतनामको हो चि मिन्ह सिटीस्थित थोङ न्यात स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ ।

यो खेल नेपालका लागि होम म्याच भए पनि, दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड नपुगेकाले नेपालले विदेशी भूमिमा खेल्न लागेको हो ।

मंगलबारको खेल नेपाली फुटबलका लागि ऐतिहासिक बन्ने सम्भावना छ, किनभने अनुभवी मिडफिल्डर रोहित चन्द आफ्नो करिअरको १००औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । यससँगै उनी कप्तान किरणकुमार लिम्बूपछि यस्तो माइलस्टोन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बन्नेछन् ।

घरेलु टोली भियतनामका लागि भने यो खेल निकै महत्वपूर्ण मानिएको छ । यदि उनीहरूले नेपालमाथि जित निकाल्न सके भने, बाँकी रहेका ६ एसियन कप स्थानका लागि उनीहरू बलियो दाबेदार बन्नेछन् । हाल समूह ‘एफ’ मा भियतनाम ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानमा मलेसिया ९ अंकका साथ अगाडि छ । नेपाल भने अंकविहीन रहँदै समूहको पुछारमा छ ।

समूह विजेताले मात्र सिधै साउदी अरबमा हुने एसियन कपमा स्थान पाउने भएकाले भियतनामले नेपालविरुद्ध जित्नैपर्ने दबाब महसुस गरिरहेको छ ।

नेपालले यसअघि भियतनामविरुद्धको खेलमा ३–१ को हार बेहोरेको थियो । त्यस खेलमा सानिश श्रेष्ठले पहिलो हाफमा बराबरी गोल गरे पनि दोस्रो हाफमा दुई गोल खेलेपछि नेपाल पराजित बनेको थियो । सो खेलमा लाकेन लिम्बूले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

हाल फिफा वरियतामा नेपाल १७६औं र भियतनाम ११४औं स्थानमा रहेका छन् । आगामी खेलमा नेपालले जित निकाल्दै आफ्नो छनोट अभियानमा नयाँ ऊर्जा भर्ने प्रयास गर्नेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.