Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

यूएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । यूएईका अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ध्रुव पराशरले पनि अन्त्यतिर ३८ रनको योगदान दिएका थिए ।

एक चरणमा ८२–१ को बलियो अवस्थामा रहेको यूएईमाथि त्यसपछि नेपाली बलरहरूले दबाब सिर्जना गरेका थिए । यूएई ९९–६ को अवस्थामा पुगेपछि पराशरले ठूला शटहरू प्रहार गर्दै खेलमा पुनः जीवन फिर्ता ल्याएका थिए । अन्तिम ओभरमा १० रन आवश्यक पर्दा बलिङमा आएका दीपेन्द्र सिंह ऐरीले निर्णायक प्रदर्शन गरे । पराशरले पहिलो बलमै छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रकै बलमा क्याचआउट भए । अन्तिम दुई बलमा ३ रन आवश्यक हुँदा यूएईले रनआउट र शर्ट रनका कारण १ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट प्राप्त गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो । ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुल्शन झाले ५ बलमा १४ रनको योगदान दिए ।

सुरुवाती १० ओभरमा ७३ रन बनाएको नेपालको रनगति त्यसपछि सुस्त भएपनि बलरहरूको उत्कृष्ट प्रदर्शनले अन्ततः टोलीलाई १ रनको नाटकीय जित दिलायो । यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.