कपिलवस्तु— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको अविजित अर्धशतकीय साझेदारीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा शानदार जित हासिल गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृंखलामा २–२ को बराबरी कायम गरेको हो।
११२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १५ बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो। नेपालको ब्याटिङमा कप्तान इन्दु बर्मा ३९ बलमा अविजित ४८ रन बनाउँदै इनिङ्सको मेरुदण्ड भइन्। पूर्वकप्तान रुबिना क्षेत्रीले पनि महत्वपूर्ण २३ बलमा २३ रन जोडीन्।
नेपालले ५४ रनको स्कोरमा चार विकेट गुमाइसकेको अवस्थामा इन्दु र रुबिनाले पाँचौं विकेटका लागि ६१ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।
मलेसियाको तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा, र माहिरा इजातीले प्रत्येकी १–१ विकेट हात पारे भने एकजना नेपाली ब्याटर रनआउट भइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन बनाएको थियो। मलेसियाकी मास एलिसाले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ५६ रन प्रहार गरिन्। माहिरा इजातीले १८ तथा नुर दानियाले १५ रनको योगदान दिए।
बलिङतर्फ नेपालकी कविता कुँवरले शानदार प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ३ विकेट हात पारिन्। पूजा महतो र कविता जोशीले पनि १–१ विकेट लिन सफल भए।
यसअघि नेपालले पहिलो खेलमा ३ रनले पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो।
अब शृंखलाको अन्तिम तथा निर्णायक पाँचौं खेल भोलि (बुधबार) हुनेछ, जसले विजेता टोली निर्धारण गर्नेछ।
