नेपालले युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ऐतिहासिक उपलब्धि हात पारेको छ। शारजाहमा सम्पन्न दोस्रो खेलमा नेपालले शक्तिशाली वेस्टइण्डिजलाई ९० रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको हो। यो सिरिज उपाधि नेपालको लागि पहिलो पटक कुनै टेस्ट टोलीविरुद्ध हात परेको हो।
१७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइण्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। उनका लागि जेसन होल्डरले १५ बलमा २ छक्का सहित सर्वाधिक २१ रन योगदान दिए। नेपाली बलिङको सामु वेस्टइण्डिजका ब्याटरहरू टिक्नै सकेनन्। पावरप्लेमा मात्र १६ रनमा २ विकेट खसाएपछि नेपालले खेलमै दबाब जमाएको थियो।
नेपालका आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। नियमित बलर नन्दन यादव घाइते भएपछि उनलाई दोस्रो खेलमा मौका दिइएको थियो। कुशल भुर्तेलले २.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए भने, ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको Challenging योगफल बनाएको थियो। ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नटआउट रहे। उनलाई साथ दिँदै सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए। दुवैले चौथो विकेटका लागि सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे।
नेपालको टी–२० आई इतिहासमा यो चौथो विकेटमा भएको उच्च साझेदारी मध्ये एक हो। साथै टेस्ट टोलीविरुद्ध पहिलो पटक नेपाली ब्याटरले शतकीय साझेदारी र अर्धशतक प्रहार गरेका छन्।
वेस्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २–२ विकेट लिएका थिए।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइण्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो। नेपाल र वेस्टइण्डिजबीचको अन्तिम खेल मंगलवार हुनेछ।
