Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

“भारतको ऐतिहासिक जित: एसिया कप क्रिकेट २०२५ को उपाधि नवौं पटक कब्जा”

भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारतले नवौं पटक खिताब हात पारेको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तान १९.१ ओभरमै अलआउट हुँदै १४६ रनमा समेटियो । एक चरणमा ११३-१ को बलियो अवस्थामा रहेपनि बाँकी ३३ रन मात्र थपेर सम्पूर्ण विकेट गुमाएको पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए भने फखर जमानले ४६ रन जोडे । सायम अयुबले १४ रन बनाए । अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल भए । भारतका बलर कुलदीप यादवले ४ ओभरमा ३० रन खर्चिँदै ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट हात पारे ।

१४७ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात कमजोर रह्यो । २०-३ को कठिन अवस्थामा पुगेको भारतलाई तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर उकासे । उनले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गर्दै खेललाई भारततर्फ मोडे । तिलकले अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवमले ३३ रन र सामसनले २४ रन बनाए ।

अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन जोड्दा रिंकु सिंहले विजयी चौका प्रहार गर्दै खेल समाप्त गरे । पाकिस्तानका लागि फहीम अशरफले ३ विकेट लिए भने अबरार अहमद र शाहीन अफ्रिदीले १-१ विकेट झारे ।

यसअघि समूह चरण र सुपर फोरमा पनि पाकिस्तानलाई हराएको भारतले फाइनलमा समेत विजयी हुँदै लगातार उत्कृष्ट प्रदर्शनसँगै नवौं एसिया कप उपाधि आफ्नो नाममा लेखाएको हो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.