Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालकाे टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित दर्ता

नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित दर्ता गरेको छ । शनिबार शारजाह क्रिकेट रंगशालामा भएको पहिलो खेलमा नेपालले पूर्व च्याम्पियन वेस्टइण्डिजलाई १९ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको हो ।

यसअघि नेपालले कहिल्यै पनि कुनै टेस्ट राष्ट्रलाई हराउन सकेको थिएन । तर वेस्टइण्डिज जस्तो २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोलीमाथि आएको यो जित नेपाली क्रिकेटकै अहिलेसम्मकै ठूलो उपलब्धि बनेको छ ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनमै सीमित भयो । उसका लागि नविन बिडैसीले सर्वाधिक २२ रन बनाए भने अन्य ब्याटरहरूले ठुलो योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । कप्तान रोहित पौडेलले ३८ रनको योगदान दिए भने कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) सस्तोमा आउट भएपछि टोली दबाबमा परेको थियो । तर रोहित र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै पारीलाई सम्हालेका थिए ।

बलिङतर्फ वेस्टइण्डिजका जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ३ विकेट र कप्तान अकिल हुसेनले १ विकेट हात पारे ।

नेपालले अब दोस्रो खेल सोमबार र निर्णायक तेस्रो खेल मंगलबार खेल्नेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.