भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गत बुधबार राति भएको खेलमा भारतले बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनल यात्रा सुनिश्चित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । भारतीय ओपनर अभिषेक शर्माले ७५ रनको शानदार पारी खेले भने हार्दिक पान्ड्याले ३८ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका रिशाद होसेनले २ विकेट लिँदा तन्जिम हसन साकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्दिनले १–१ विकेट हात पारे ।
जवाफमा १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १२७ रनमै अलआउट भयो । बंगलादेशका ओपनर सेफ हसनले सर्वाधिक ६९ रन बनाए पनि अन्य खेलाडीबाट उल्लेखनीय योगदान आएन । पर्वेज हसन इमोनले २१ रन बनाए ।

भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए भने जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान २–२ विकेट झारे । अक्षर पटेलले पनि १ विकेट जोडे ।
यस जितसँगै सुपर फोरमा लगातार दुई खेल जितेर ४ अंक जोडेको भारत फाइनलमा पुगेको हो । भारतले अब श्रीलंकासँग एक खेल खेल्न बाँकी छ । आजको नतिजापछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी फाइनल स्पट बंगलादेश र पाकिस्तानबीचको खेलको विजेताले पाउनेछ ।
