Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाली महिला फुटबल टोली भारत, इन्डोनेसिया र चाइनिज ताइपेइसँग फुटबल खेल्दै

कपिलवस्तु – नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारतमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको २०८२ सालको क्यालेन्डरअनुसार नेपाल र भारतबीचको खेल सिक्किममा हुनेछ ।

त्यसपछि टोली मंसिरमा इन्डोनेसिया प्रस्थान गर्नेछ, जहाँ इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल हुनेछ । यो सिरिज मंसिर ८ देखि १६ सम्म चल्नेछ ।

एन्फाले यसअघि साधारण सभाबाट पारित क्यालेन्डरमा प्रत्येक फिफा विन्डोमा दुई–दुई खेल समावेश गर्ने निर्णय गरे पनि अक्टोबर विन्डोमा भने एक खेल मात्रै हुने जनाएको छ ।

यसैबीच, काठमाडौंको दशरथ रंगशालामा पुसमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने तय भएको छ भने पुस ११ देखि २२ सम्म च्यासलमा एन्फा महिला च्याम्पियनसिप हुनेछ । सहिद स्मारक महिला लिग र महिला सुपर लिग पनि यो सिजनको कार्यतालिकामा समावेश छन् ।

पुरुषतर्फ, एएफसी एसियन कप छनोटमा नेपालले भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गर्नेछ । साथै, एन्फा प्रेसिडेन्ट लिग कात्तिक १६ देखि मंसिर ६ सम्म काठमाडौं बाहिर सञ्चालन हुने र एन्फा यू–१६ युथ लिग कात्तिक १७ देखि सुरु हुने भएको छ ।

त्यस्तै, ललित मेमोरियल यू–१८ युथ लिग मंसिर २९ देखि सुरु हुने छ भने सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस ९ देखि प्रारम्भ भई २०८३ को असारसम्म निरन्तर सञ्चालन हुने एन्फाले जनाएको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.